२०८२ फाल्गुन २९ गते शुक्रवार

चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन हुने


दाङ । सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । साल्ट ट्रेडिङले पनि देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

यी पसलबाट विभिन्न खाद्यान्न प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले साउन २६ गते खाद्यान्नमा छुट गरिने मूल्य, सुपथ मूल्य पसल सञ्चालन गर्ने स्थानसहितको प्रस्ताव पठाएको थियो । यही भदौ ८ गतेको मन्त्रीस्तरको निर्णयअनुसार उक्त प्रस्ताव स्वीकृत भएको हो ।

लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । रुपन्देहीमा भैरहवा र बुटवल हाटबजार, बाँकेमा मुख्य शाखा कार्यालय नेपालगञ्ज, दाङमा मुख्य शाखा कार्यालय तुलसीपुर, बर्दियामा मुख्य शाखा कार्यालय राजापुर र रोल्पामा शाखा कार्यालय लिवाङ, गुल्मीमा शाखा कार्यालय तम्घास र बलेटक्सार बिक्री केन्द्र रहनेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस