दाङ, १८ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले भूमिहिन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको कामलाई तिब्रता दिने भएको छ । वडाले करिब ५ महिनाभित्र नापजाँचको काम सक्ने गरी कामलाई तिब्रता दिएको वडा अध्यक्ष घनश्याम ढकालले जानकारी दिनुभयो ।
जग्गा नापजाँचको अवस्था र लालपुर्जा वितरणको तयारीबारे जानकारी दिन बुधबार वडाले टोल विकास संस्थाका पदाधिकारी र सरोकारवालाबिच अन्तरक्रिया गरेको छ । त्यस अवसरमा वडा अध्यक्ष ढकालले जतिसक्दो छिटो लालपुर्जा वितरणको कामलाई अघि बढाउनका लागि अहिले जग्गा नापजाँचको कामलाई तिब्रता दिएको बताउनुभयो ।
भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले छिट्टै करिब १ हजार जनालाई लालपुर्जा वितरण गरिने बताउनुभयो । उहाँका अनुसार सबैभन्दा पहिले भूमिहिन सुकमवासी दलितलाई लालपुर्जा वितरण गरिने भएको छ । त्यसपछि अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने उहाँले बताउनुभयो ।
वडाअध्यक्ष घनश्याम ढकालको अध्यक्षता तथा भूमि आयोग दाङका अध्यक्ष हुकम बस्नेतको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यपालिका सदस्य बसन्ता केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव मेघलाल भूषालले गर्नुभएको हो ।
















