२०८२ कार्तिक ३० गते आइतवार

चन्द्रवीरको घरमै पुगेर विद्यार्थीले पढे स्थानीय पाठ्यक्रम


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीले स्थानीय पाठ्यक्रममा समावेश चन्द्रवीर ओलीको संघर्षको कथा उहाँकै घरमा पुगेर अध्ययन गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ओलीले गरेको संघर्षलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ । पाठ्क्रममा भएको कुरा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच सेकेन्डरी स्कुल कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले उहाँकै घरमा गएर पढेका हुन् ।

कक्षा ८ का विद्यार्थी प्रतिक्षा डाँगीले चन्द्रबिर ओलीको संघर्षले आफूहरुमा हौसला थपीएको बताउनुभयो । स्थानीय पाठ्यक्रममा भएको कुरा विद्यालयले चन्द्रवीरको घरमै पुगेर पढ्ने अवसर दिएकोमा खुसी व्यक्त गदै चन्द्रवीरको संघर्षले आफुलाई पनि संघर्ष गर्न हौसला दिएको बताउनुभयो ।

छात्रा तेजस्वी कालाथोकीले भौतिक रुपमा चन्द्रवीरकै घरमा पुगेर पढ्न पाउँदा खुशी लागेको बताउनुभयो । चन्द्रबिरले आफ्‌नो दृष्टिबिहिन श्रिमती र छोराहरुको लागि खनेको बाटो आज हजारौं मानिस हिँड्ने बनेको छ । चन्द्रबिरकै घर आँगनमा पुगेर उहाँको संघर्ष र मेहनत विद्यार्थीरुका लागि प्रेरणाको स्रोत बनेको उहाँको भनाई छ ।

शिक्षक जीवन शर्माले स्थानीय पाठ्यक्रममा रहेको चन्द्रबिरको कथालाई प्रत्यक्ष रुपमा उहाँकै घरमा विद्यार्थी लिएर पढाउँदा बुझाउ सहज भएको बताउनुभयो । विद्यार्थीलाई उहाँकै संघर्षको कथा प्रत्यक्ष देखाएर पढाउँदा सिकाई अझ प्रभावकारी हुने उहाँको भनाई छ ।

दृष्टिविहीन श्रिमती र छोराहरुलाई हिंडडुल गर्नका लागि चन्द्रवीर एक्लै करिब ३ किलोमिटर बाटो खन्नुभएको थियो । सुरुमा आफ्‌नो परिवारका सदस्यलाई हिँड्न सहज बनाउन खनिएको बाटो अहिले हजारौं मानिसको दैनिकीको बाटो बनेको छ । सोही बाटो भएर स्थानीय नागरीकहरुलाई तुलसीपुर आउँजाउ गर्न सहज बनेको छ । साथै विद्यार्थीहरूले दैनिक खाजा खर्च संकलन गरेर चन्द्रबिरलाई आर्थिक सहयोग पनि गरेका छन् । यो सहयोगले दशैँसम्म घरखर्च चलाउन सहज हुने चन्द्रबिरले बताउनुभयो ।

हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यार्थीहरुलाई शैद्धान्तिकसँगै व्यावाहारीक शिक्षा पनि प्रदान गदै आएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर विभिन्न समयमा विषयवस्तुअनुसार भौतिक उपस्थिति गराएर अध्यापन गर्दै आएको विद्यालयका प्रिन्सिपल डिआर भण्डारीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस