दाङ । भदौ २३ र २४ गते जेनजीका प्रदर्शनकारीहरूले यातायात व्यवस्था कार्यालय तुलसीपुरमा आगजनी गर्दा मूख्य भवन जलेर ध्वस्त भएको छ । आगलागिबाट भौतिक तथा जिन्सी सामान करिब १२ करोड रुपैयाँ बराबरको क्षति भएको कार्यालयका प्रमुख टोपेन्द्र केसीले जानकारी दिनुभयो ।
कार्यालयले चालक अनुमतिपत्र वितरण, सवारीसाधन दर्ता, नवीकरण, इम्बोस्ड नम्बर प्लेट वितरण, ब्लुबुक नवीकरणलगायतका महत्वपूर्ण सेवा प्रदान गदै आएको थियो । भवन र उपकरण पूर्ण रूपमा जलेर क्षतिग्रस्त बनेपछि हजारौँ सेवाग्राही समस्यामा परेका छन् ।

कार्यालयका महत्वपूर्ण सम्पूर्ण कागजातकरु जलेर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयमा भएको कागजात बचाउनको लागि धेरै कोसीस गर्दा पनि जोगाउन नसकेको कार्यालय प्रमुख केसीले बताउनुभयो ।
आगजनिबाट कार्यालयमा रहेका करिब १२ हजार स्मार्ट कार्ड, इम्बोस्ड नम्बर प्लेट, दैनिक संकलन हुने राजश्व ३ लाख रुपैयाँ नगद, ल्यापटप, कम्प्युटर, जेनेरेटर, फर्निचरलगायतका सामग्री, यातायात व्यस्था विभागबाट प्राप्त भएका महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएको प्रमुख केसीले बताउनुभयो । तर कार्यालयमा रहेका चारपांग्रे र दुईपांग्रे सवारीसाधन भने सुरक्षित रहेका छन् ।
यस्तै लाइसेन्सको प्रयोगात्मक परिक्षा(ट्रायल) पनि कार्यालयले सञ्चालन गदै आएको थियो । परिक्षामा पास भएकाहरुको नतिजा कापिमा टिपोट गरेको र कम्प्युटरमा इन्ट्री गर्न बाँकी रहेको थियोे । त्यो पनि सबै जलेर नष्ट भएको प्रमुख केसीले जानकारी दिनुभयो । ट्रायल सेन्टरमा भएको सिसि टिभि फुटेज पनि जलेर नष्ट भएकाले परिक्षा दिएका व्यक्तिहरुको नतिजामा समस्या हुने उहाँको भनाई छ ।

कार्यालयमा ल्यापटप, कम्प्युटरहरु झण्डै तीन दर्जन रहेको बताइएको छ । त्यो सबै जलेर नष्ट भएको छ भने बचेको सामाग्री पनि केही व्यक्तिहरुले चोरी लुटपाट गरेर लगेको कार्यालयले जनाएको छ । साथै कार्यालयको नयाँ भवन भने आगजनीबाट जोगिएको छ । कार्यालयले नयाँ भवनबाट सेवा दिने सोच बनाएको छ । त्यसको लागि यातायात व्यवस्था मन्त्रालय तथा प्रदेश मन्त्रालयसंग समन्वय गरेर सामाग्री जुटाउने र तीन चार दिनभित्रै सामान्य सेवा सञ्चालन हुने प्रमुख केसीले जानकारी दिनुभयो ।

सुरुवाती चरणमा ब्लुबुक नवीकरण, रुट इजाजतपत्र वितरण जस्ता सेवा सञ्चालन हुनेछन् । तर राजस्व संकलनको लागि आवश्यक रसिद नष्ट भएकाले अझ केही समय लाग्ने कार्यालयले जनाएको छ । त्यसको लागि प्रदेश सरकारसँग छलफल गरेर समाधान खोजिने प्रमुख केसीले जानकारी दिनुभयो । ट्रायालको काम सूचारु गर्न भने समय लाग्ने भएको छ ।
यस्तै आगलागीका क्रममा केही सामान चोरी भएको भन्दै प्रमुख केसीले सर्वसाधारणलाई चोरी भएका सामग्री फिर्ता गर्न आग्रह गर्नुभएको छ । उहाँले इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयमा सामान चोरी भएको कुरा जानकारी गराइसकेकाले चोरी गर्नेलाई कारबाही हुने बताउनुभयो ।















