दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले सेवा दिन अझै एक हप्ता बढी लाग्ने भएको छ । जेनजीको प्रदर्शनका क्रममा कार्यालयमा क्षति पुगेकाले सेवा दिन एक साता बढी लाग्ने भएको हो ।
कार्यालयका प्रमुख श्रीधर टण्डनले १० दिनभन्दा अघि भौतिकरुपमा सेवा दिन नसकिने बताउनुभयो । उहाँका अनुसार कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, नेटवर्किङ उपकरण, अभिलेख, अडिट तथा अनुसन्धान सम्बन्धी फाइल, अन्त शुल्कका स्टिकर लगायतका अधिकांश सामग्री जलेर नष्ट भएका छन् । केही फाइल र स्टिकरबाहेक अन्य सबै सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
सम्पूर्ण अभिलेख नष्ट भएकाले विवरण बुझाउने र राजस्व जम्मा गर्ने बाहेकका सबै काम रोकिएको प्रमुख टण्डनले बताउनुभयो । हाल कार्यालयमै ग्लोबल आइएमइ बैंकको काउन्टरमार्फत राजश्व संकलन हुने भएकाले रकम सुरक्षित रहेको कार्यालयले जनाएको छ । तर कर्मचारीहरूको आवास क्षेत्रमा भने तोडफोड र आगजनी भएकाले केही सामान्य रकम र निजी सम्पत्तिमा क्षति पुगेको छ ।
भौतिक रुपमा सेवा सूचारु नभएपनि करदाताहरूले आवश्यक परेमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) भने बिना समस्या लिन सक्नेछन् । नेपाल सरकारको नागरिक एपबाट आफैले पनि आवश्यक परेमा स्थायी लेखा नम्बर लिन सकिने प्रमुख टण्डलले बताउनुभयो ।
हाल अनलाइन प्रणालीमार्फत व्यवसाय दर्ता सम्बन्धी विवरण सुरक्षित रहेपनि बीचका केही व्यक्तिगत फाइल जलेका कारण तथ्याङ्क मिलाउन समस्या हुने देखिएको छ ।
संघीय भवन डिभिजनको प्राविधिक टोलीले जलेको भवनको अनुगमन गरेको छ । भवन जलेर ध्वस्त भएकाले मर्मत गरेर प्रयोग गर्न नमिल्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।
त्यसको लागि वैकल्पिक रूपमा अन्य सरकारी वा सामुदायिक भवन तथा आवश्यक परे भाडामा लिएर अस्थायी रूपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख टण्डनले जानकारी दिनुभयो ।
प्रमुख टण्डनले सेवाग्राहीहरूलाई केही समय धैर्य गर्न आग्रह गर्नु भएको छ । उहाँले भौतिक संरचनाको टुंगो लागेपछि कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउने बताउनुभयो ।












