दाङ । दाङमा पछिल्लो समय व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार दाङमा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आवमा छ सय ७० हेक्टर क्षेत्रमा केराखेती भएको ज्ञान केन्द्रसँग तथ्याङ्क छ । गत आवमा एक सय ५० हेक्टर केराखेती हुने क्षेत्रफल वृद्धि भएको हो । जिल्लाको उत्पादनले बजारको करिब ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वका समयमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो ।
दाङमा पछिल्लो समय व्यावसायिक केराखेती बढ्दै गएको छ । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
जिल्लामा देउखुरीको राप्ती, शान्तिनगर, गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । केराखेतीमा ठूलो लगानी गर्ने किसान तथा व्यवसायी लागेको पाइएको छ ।
प्रमुख भण्डारीका अनुसार जिल्लामा केराखेतीको राम्रो सम्भावना छ, त्यसैले पनि पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । केराको बजारसमेत राम्रो रहेको उनी बताउछन् । सबैले उपयोग गर्ने भएकाले केरा खपतमा समस्या छैन । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदानसमेत दिएको थियो ।
अन्य याममा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वका समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्र्याउनुपर्ने अवस्था छ ।














