दाङ । दशैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा जन्मथलो फर्किने यात्रुको चाप देशभर बढ्न थालेको छ । रोजगारी, अध्ययन तथा व्यवसायका लागि विभिन्न सहरमा बसोबास गर्दै आएका नागरिक चाडपर्व परिवारसँगै मनाउन गाउँ फर्किन थालेका कारण सडक तथा सार्वजनिक यातायातमा यात्रुको भीड बढेको हो ।
काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज, बुटवललगायतका सहरबाट दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान र आसपासका जिल्लामा फर्किने यात्रुको चाप उल्लेख्य छ । लामो दूरीका बसपार्कमा बिहानैदेखि यात्रुहरूको भीड देखिन्छ ।
यातायात व्यवसायीहरूले माग अनुसार गाडी अभाव नहुने यातायात व्यवसायीको दावि छ । सोहि अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट खुला गरिएको छ ।
देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि सोमबारदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ ।
यात्रुको भीड बढेसँगै टिकट अभाव देखिएको छ । कतिपय यात्रुहरूलाई समयमा टिकट नपाएर समस्या भएको छ । यात्रु चापसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले प्रहरीले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कडाइ गर्न थालिएको छ ।










