दाङ । दशैँ, तिहार र छठ पर्वको अवसरमा नेशनल प्याब्सन दाङले सोमबार तुलसीपुरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रिय सदस्य बिमल गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार र छठ पर्वले नेपालीबीच आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरेका छन् । वक्ताहरुले पछिल्लो समय समाजमा उत्पन्न विविध चुनौतीपूर्ण परिस्थितिका कारण मानिसहरूबीच देखिएको दूरी चाडपर्वको माध्यमबाट हट्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले चाडपर्वले सांस्कृतिक सम्पदाको संरक्षणसँगै एक आपसमा सहयोग र सहकार्य गर्ने भावना प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो । त्यस्तै अध्यक्ष न्यौपानेले पनि प्याब्सन दाङले शैक्षिक गतिविधिसँगै सामाजिक सद्भाव र एकता प्रवद्र्धन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
नेशनल प्याब्सन दाङले प्रत्येक वर्ष चाडपर्वलाई अवसर मानेर शिक्षासँगै समाजलाई जोड्ने खालका कार्यक्रम गर्दै आएको छ । शारदा विद्या मन्दिरका प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य भीमबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, पत्रकार दिपक बोहरा, आशिष केसी लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण कुलदिप गौतमले गर्नुभएको हो ।















