दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शेयर पुँजी चार करोडभन्दा बढी पुगेको छ । १९ औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले संस्थामा करिब ५ हजार शेयर सदस्य पुगेको र चार करोड भन्दा बढी शेयर पुँजी पुगेको बताउनुभयो ।

उहाँले २०७६ सालदेखि संस्थाले पञ्चवर्षिय रणनीति अनुसार काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार शेयर सदस्यको वचत २२ करोड २४ लाख पुगेको छ । संस्था शेयर सदस्यको जीवनबाट गरिबी अन्त्यमा केन्द्रित भएको बताउँदै उहाँले थप नयाँ व्यवसायमार्फत आर्थिक विकास गर्ने रणनीतिमा लागेको बताउनुभयो ।
यसैगरी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको हो । यस्तै संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले संस्थाको कुल पुँजी तथा दायित्व ३२ करोड ३० लाख ९० हजार ९१८ पुगेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा ४५ करोड १८ लाख ९३ हजार ९६० पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले प्रस्तुत गर्नुभएको हो । संस्थाले मंगलबार दोस्रो दिन पनि संस्थाको प्रांगनमै साधारणसभा गरेको हो । संस्थाले मंगलबार तुलसीपुर–१, २, ५, ६ ,८ र ९ का सबै शेयर सदस्यका लागि केन्द्रिय कार्यालय झुमरेमै साधारणसभा गरेको हो ।

संस्थाका उपाध्यक्ष नमीकुमारी रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा आज पनि नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल भएको छ ।
साधारण सभामा चमन धिताल, शसिराम बुढाथोकी लगायतले विभिन्न सुझाव दिनुभयो । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच सकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो । संस्थाको साधारणसभा विभिन्न ठाउँमा २६ गतेसम्म संचालन हुने छ ।

संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा विभिन्न मितिमा विभिन्न स्थानमा गर्न लागिएको हो । संस्थाले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का सबै र वडा नम्बर ४ का मुलकोटका मात्रै शेयर सदस्यका लागि रानागाउँ स्कुलमा साधारण सभा गर्ने भएकाले उपस्थितिका लागि अनुरोध गरेको छ ।















