२०८२ मङ्सिर २२ गते सोमवार

तिहारको रौनक शुरु : आज लक्ष्मी पुजा र कुकुर तिहार मनाइदै

दाङ । गाउँदेखि सहरसम्म तिहारको रौनक शुरु भएको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरीने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

लक्ष्मी पूजाका अवसरमा आज दीपावली गरी झिलीमिली बनाइन्छ । परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।

यस्तै तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुभयो ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस