दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका सुदिप चौधरीले सञ्चालन गरेको माछा पोखरीमा रहेका सबै माछा मरेका छन् । बेमौसमी वर्षा र घाम–छायाँले पोखरीमा अक्सिजनको कमी हुँदा माछा मरेको चौधरीले बताउनुभयो ।

बराहदेव कृषि फर्मद्वारा सञ्चालित करिब १० कठ्ठा क्षेत्रफलको पोखरीमा चौधरीले दुई वर्षदेखि माछा पालन गर्दै आउनुभएको थियो । सुरुवाती चरणमा उहाँले राहु, कमन, सिल्भर र ग्रास जातका करिब ६ क्विन्टल माछाका भुरा पोखरीमा राख्नुभएको थियो । ती माछा अहिले प्रत्येक करिब तीन किलो तौलका भइसकेका थिए ।

तर, पछिल्लो तीन दिनदेखिको लगातारको वर्षाले पोखरीमा रहेका करिब १० क्विन्टल माछा मरेका छन् । सबै माछा मरेपछि चौधरीको दुई वर्षको लगानी र मेहनत दुवै डुबेको छ ।
“आम्दानी होला भनेर दुई वर्षदेखि मेहनत गरेको थिएँ, तर मौसमकै कारण सबै माछा मरेपछि सबै लगानी डुब्यो,” चौधरीले भन्नुभयो– “अब ठेक्काको पैसा बुझाउने चिन्ता थपिएको छ ।”

चौधरीका अनुसार पोखरीमा रहेका माछा प्रति किलो चार सय रुपैयाँका दरले बिक्री हुने तयारीमा थिए । माछा मरेपछि करिब चार लाख रुपैयाँ बराबरको नोक्सानी भएको उहाँले बताउनुभयो ।
माछाका भुरा खरिदमा ५० हजार, दाना खुवाउन ६ लाख रुपैयाँभन्दा बढी र वार्षिक ठेक्का बापत ७५ हजार रुपैयाँ जग्गाधनीलाई बुझाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
जग्गा भाडा, माछा र दानासहित करिब १० लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उहाँको भनाई छ । पोखरीमा अहिले करिब तीन हजार साना ‘बैखा’ माछा मात्रै बाँकी रहेका छन् । २१ वर्षका सुदिपले नेपालमै केही गर्ने उद्देश्यका साथ माछा पालन सुरु गर्नु भएको छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीले प्रभावित कृषकको क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । हिजो साँझ जसपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक एक बहादुर खड्का र आफु स्वयम फिल्डमा पुगेको बताउनुभयो । अहिले प्रहरीको टोलीले क्षतिको विवरण संकलन गर्न पुगेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

क्षति विवरण संकलन गरी वडा मार्फत तुलसीपुर उपमहानगरपालिकाको विपद् शाखामा सिफारिस गरिने वडाध्यक्ष चौधरीले बताउनुभयो । उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित बनेका युवा सुदिपका लागि स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।















