दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र तुलसीपुर फेन्सी व्यवसायी समितीबीच तुलसीपुरमा आयोजना हुने आगामी महोत्सवका विषयमा छलफल तथा सुझाव संकलन गरिएको छ ।
कार्यक्रममा तुलसीपुर फेन्सी व्यवसायी समितीका अध्यक्ष नरेश कुमार डाँगीसहित फेन्सी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी व्यवसायीहरूले महोत्सवको मिति अलि अगाडि परेको भन्दै केही समय पछाडि सारिदिन आग्रह गरेका छन् ।
उनीहरुले अहिले जाडो सिजन भर्खरै सुरु भएको र तुलसीपुर उपमहानगरपालिकाले अनुमतिका लागि सिफारिस गरेको मङ्सिर ११ गतेदेखि २८ गतेसम्मको मिति व्यवसायिक हिसाबले अनुकूल नहुने बताएका हुन् ।
व्यवसायीहरूले सो अवधिमा बजारको व्यापारमा नकारात्मक असर पर्ने भन्दै महोत्सवको मिति पुनर्विचार गर्न समेत माग गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष महोत्सव सञ्चालनका लागि अनुमति दिएपछि स्थानीय उद्यमि व्यवसायी र सरोकारवालाहरुसंग छलफल र सुझाव संकलन गरिएको जानकारी दिनुभयो ।
उहाँले फेन्सी व्यवसायीहरूसँगको छलफल सकारात्मक भएको भन्दै सबै पक्षसँग समन्वय गरी अगाडी बड्ने बताउनुभयो ।















