२०८२ मङ्सिर २२ गते सोमवार

लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु : घरबाटै हिंसा अन्त्यका लागि जोड

दाङ। हिंसामुक्त समाज निर्माणका लागि सरोकारवालाले जोड दिएका छन् । लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानको मंगलबार तुलसीपुरमा शुभारम्भ गर्दै सरोकारवालाले हिंसामुक्त समाज निर्माणका लागि घरबाट हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुरस्थित सरोकारवाला संघसस्थाहरुको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले घरबाटै हिंसामुक्त समाजको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समय हिंसाका स्वरुप परिवर्तन हुदै गएको बताउँदै हिंसाकै कारणले गर्दा धेरै मानिसले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले गर्दा पनि हिंसा बढिरहेको भन्दै सामाजिक सञ्जालको सहीरुपमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले विशेषगरी प्रत्यक नागरिकले आ–आफ्नो घरबाटै हिंसा नगर्ने प्रण गरेमा यस्ता खाले हिंसाहरु स्वतह घट्दै जाने बताउनुभयो ।

त्यस अवसरमा केही विद्यार्थीहरुले ‘‘हिंसा निम्त्याउने सबै क्रियाकलाप बन्द गरौँ, लैँगिक हिंसा अन्त्य गरौँ, घरेलु हिंसा अन्त्य गरौँ, लैँगिक हिंसा अन्त्यका लागी सबै जुटौँ, कोही नछुटौँ, कुरा होइन काम गरौँ’’ लगाएतका नारा लेखिएका विभिन्न प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस