२०८२ माघ ७ गते बुधवार

बेमौसमी तरकारीबाट वर्षेनि करोडौँको आम्दानी

सल्यान । सल्यानका किसानले बेमौसमी तरकारीबाट वर्षेनि करोडौँको आम्दानी गर्दै आएका छन् । यसवर्ष पनि छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल बिक्रीबाट साढे ३० करोड बढी नगद आम्दानी गरेका छन् ।

बेमौसमी तरकारी खेतीमा मेहनत र लगानी दुबै बढाउँदै लगेका किसानहरूले गत जेठको अन्तिम हप्तादेखि हालसम्म ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ७८ लाख ५९ हजार ९३६ किलो ताजा तरकारी र फलफूल बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

बजार केन्द्रका अध्यक्ष तिलक शर्माले छ महिनामा किसानहरूले टमाटर, बन्दा, काउली,सिमी, भेडे खुर्सानी लगायतको तरकारीबाट ३० करोड बढी आम्दानी गरेको बताउनुभयो ।

तर किसानहरूले यस वर्ष विगतका वर्षहरूको तुलनामा आफ्नो कृषि उत्पादनले कम मूल्य पाएको गुनासो गरेका छन् । यस वर्ष टमाटर लगायतका तरकारीले कम मूल्य पाएको कपुरकोट–३, मुलपानीका किसान ठगबहादुर बस्नेतले बताउनुभयो ।

वि.सं. २०४७ सालदेखि बेमौसमी ताजा तरकारी खेती हुँदै आएको कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यवसायिक रूपमा खेती गर्दै आएका छन् । हप्ताको मङ्गलबार र शुक्रबार कपुरकोटमा तरकारी बजार लाग्ने गर्दछ भने शीतलबजार र बगालेमा पनि अन्य बारमा बजार लाग्ने गरेको बजार केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस