दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, डाँडाखुट्टीस्थित भगवती प्राथमिक विद्यालयमा अध्ययनरत ७५ जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई न्यानो पोशाक (सुइटर) वितरण गरिएको छ ।
जाडो मौसमलाई लक्षित गर्दै देउराली स्कुल युनिफर्म तुलसीपुरका सञ्चालक एवं समाजसेवी केशवराज खनालले विद्यार्थीहरूलाई करिब ४० हजार रुपैयाँ बराबरको ७५ थान सुइटर उपलब्ध गराउनुभएको हो ।
जय जीव दर्शनका प्रवर्तक एवं समाजसेवी उपेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा थर्कोट डट कमका सञ्चालक दोर्ण केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले सेवा नै धर्म भएको उल्लेख गर्दै विद्यार्थीको शैक्षिक निरन्तरताका लागि यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विद्यार्थीहरूलाई चिसोबाट बचाउन र नियमित विद्यालय आउने वातावरण सिर्जना गर्न व्यवसायी खनालले गरेको यो सहयोगप्रति विद्यालय परिवारले उच्च प्रशंसा गरेको छ ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक गोमा गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाका बहादुर केसी, र शिक्षक अभिभावक संघका अध्यक्ष बसन्त ओली (सुन्दर) ले दाता खनाललाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अवसरमा समाजसेवीहरू रोम बहादुर राणा र शिवलाल केसीको पनि उपस्थिति रहेको थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधार र विपन्न विद्यार्थीको हितका लागि यस्ता सामाजिक कार्यहरू आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ ।















