२०८२ माघ ८ गते बिहिवार

हाम्रो पहुँचका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम आजदेखि शुरु

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना नवनिर्वाचित नेतृत्वलाई सहकारीको नीति, विधि र व्यावसायिकतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले घोराहीमा दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

गत असोज ३० गते चयन भएका संचालक समिति, लेखा सुपरिवेक्षण समिति र समितिले मनोनित गरेका सल्लाहकार र उपसमितिका सदस्यहरूलाई संस्थाको कार्यप्रणालीमा पोख्त बनाउन यो तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बताउनुभयो ।

उहाँले नेपाल सरकार सहकारी विभागको निर्देशिका अनुसार नवनिर्वाचित समितिलाई कार्यभार सम्हालेको तीन महिनाभित्रै तालिम दिनुपर्ने अनिवार्य व्यवस्थालाई पालना गर्दै यो तालिम सञ्चालन गरिएको बताउनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरूलाई सहकारी विभागको निर्देशिका, संस्थागत सुशासन र सदस्य केन्द्रित सेवाका बारेमा प्रशिक्षित गर्न तालिमको आयोजना गरिएको हो ।

तालिमका प्रशिक्षकहरू बाबु खनाल र संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रशिक्षणका क्रममा सहकारीमा नेतृत्वको जिम्मेवारी, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनका प्राविधिक पक्षहरूका बारेमा जानकारी गराउनुभएको छ ।

उहाँहरूले सहकारीलाई पारदर्शी ढंगले अगाडि बढाउन र सदस्यहरूको वचतको सुरक्षा गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सीपबारे मुख्य जोड दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था अन्य सहकारीका लागि सिकाईको केन्द्र बनेको बताउनुभयो । उहाँले हाम्रो पहुँचले जस्तै अन्य सहकारीले पनि सामाजिक उत्तरदायित्व र व्यावसायिकतालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष एवं शिक्षा तालिम उपसमिति संयोजक कृष्ण प्रसाद पोखरेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख डीसीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको संस्थाका सचिव जीवराज अधिकारीले सहजीकरण गर्नुभएको हो । तालिम भोलिसम्म संचालन हुने संस्थाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस