२०८३ जेष्ठ १२ गते मङ्गलवार

समाजसेवी रिजालले मानव सेवा आश्रममा भोजन गराएर उत्सव मनाए


दाङ
दाङको तुलसीपुरको राप्ती लाइफ केयर अस्पताल प्रालिका अध्यक्ष एवं समाजसेवी हरिप्रसाद रिजालले आफ्नो जन्मदिन मानवीय सेवाका साथ मनाउनुभएको छ । रिजालले आफ्नो जन्मदिनको अवसरमा तुलसीपुरस्थित मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई बिहिबार बिहानको भोजन गराउनुभएको हो ।

तुलसीपुर क्षेत्रको स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय रिजालले तडकभडक र खर्चिलो उत्सव मनाउनुको साटो आश्रममा रहेका आमाबुबा र बालबालिकाहरूलाई भोजन गराएर जन्मदिन मनाउनुभएको हो ।

अध्यक्ष रिजालले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर असहायहरूको सेवामा लगाउन पाउँदा छुट्टै आत्मसन्तुष्टि हुने बताउनुभयो । सानो सहयोगले कसैको अनुहारमा मुस्कान ल्याउन सकिने उहाँको भनाई छ ।

आश्रमका प्रमुख हिरु जोशीले रिजालको यस कार्यप्रति कृतज्ञता व्यक्त गर्दै जन्मदिनको शुभकामना अर्पण गर्नुभएको छ । उहाँका अनुसार यस्ता मनकारी व्यक्तिहरूको सहयोगकै कारण सडकमा रहेका बेसहाराहरूको लालनपालन र संरक्षणमा ठूलो टेवा पुग्दै आएको छ ।

त्यस अवसरमा राप्ती लाइफ केयर अस्पतालले आश्रममा आश्रित व्यक्तिको स्वास्थ्य निशुल्करुपमा जाँच समेत गरेको छ । अध्यक्ष रिजालले अबदेखि अस्पतालले तीन÷तीन महिनामा आश्रममा आश्रित नागरिकको स्वास्थ्य निशुल्करुपमा जाँच गर्ने प्रतिवद्धताा जनाउनुभएको छ । यस्तै समस्या भएका बिरामीलाई अस्पतालले उपचारमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हस्पिटल एड्मिनिट्रेसन एण्ड अपरेशन हेड बिमकला रिजाल, डा. रितेश शर्मा, तुलराज बराल, सपना बुढाथोकी, माधव खत्री लगायत अस्पतालका कर्मचारी, उहाँका शुभचिन्तक र परिवारका सदस्यहरूको समेत उपस्थिति रहेको थियो । यसअघि पनि रिजालले विभिन्न सामाजिक र परोपकारी कार्यहरूमा आफ्नो उपस्थिति जनाउँदै आउनुभएको छ ।।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस