२०८२ माघ ७ गते बुधवार

तराईमा चिसोको कहर

दाङ । दाङ उपत्यकासहित पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि लागिरहेको बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण आम नागरिकको दैनिक कामकाजमा समस्या देखिएको हो ।

दाङ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा चिसोबाट बच्नका लागि आवश्यक पूर्व तयारी गरिएको बताउनुभयो ।

उहाँले शितलहर र चिसोबाट बच्न सचेतना अभियानदेखि विभिन्न निकायको समन्वयमा दाउरा वितरण गर्ने निर्णय गरिएको बताउनुभयो । दाङ उपत्यकाको तुलनामा देउखुरी क्षेत्रमा बढी शितलहरको प्रभाव देखिने गरेको उहाँले बताउनुभयो ।

चिसोकै कारण दाङ, बाँके र बर्दिया लगायतका जिल्लामा बिहानको समयमा चल्ने यातायातका साधन र बजार क्षेत्रमा चहलपहल निकै कम देखिएको छ । बाक्लो कुहिरोले गर्दा सडकमा ’भिजिबिलिटी’ कम हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

चिसोका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरू बढी प्रभावित भएका छन् । अस्पतालहरूमा चिसोसम्बन्धी बिरामीको संख्या बढ्न थालेपछि चिकित्सकहरूले तातो झोलिलो खानेकुरा खान र शरीर न्यानो राख्न सुझाव दिएका छन् । अत्यधिक चिसोका कारण केही स्थानीय तहले विद्यालयहरूमा जाडो बिदा दिने तयारी समेत गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा अझै केही दिन शीतलहर कायम रहने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस