दाङ । ज्योति विकास बैंक तुलसीपुर शाखाले मालपोत कार्यालय तुलसीपुरलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । गत भदौ २४ गते नवयुवाको आन्दोलनको क्रममा मालपोत कार्यालय जलेपछि सेवाप्रवाहमा कठिनाई भइरहेका बेला ज्योति विकास बैंकले एक/एक थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।
बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत मालपोत कार्यालय तुलसीपुरलाई सेवा प्रवाहमा सहजता ल्याउनका लागि कम्प्युटर र प्रिन्टर सहयोग गरेको शाखा प्रमुख कमल रावतले बताउनुभयो ।
शाखा प्रमुख रावतसहित कर्जा विभाग प्रमुख सागर धिताल, कर्मचारी शेरबहादुर केसीले मंगलबार मालपोत कार्यालय प्रमुख खिमबहादुर खड्का र सुचना अधिकारी शान्तराज गौतमलाई संयुक्तरुपमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।
कार्यालय प्रमुख खिम बहादुर खड्काले ज्योति विकास बैंक परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । उहाँले नव युवाको अन्दोलनको क्रममा संरचनासंगै अन्य भौतिक सामानमा पनि क्षति भएपछि सेवाप्रवाहमा समस्या भइरहेका बेला बैंकको सहयोग पाउँदा खुशी व्यक्त गर्दै बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मालपोत कार्यालय तुलसीपुरलाई बैंकीङ क्षेत्रबाट ज्योति विकास बैंक तुलसीपुरको पहिलोपटक सहयोग प्राप्त भएको हो ।














