दाङ । दाङसहित थारु बाहुल्य रहेका जिल्लामा थारु समुदायको नयाँ वर्ष एवं महान् पर्व ‘माघ’ पर्वको व्यापक तयारी गरिएको छ । भोलि माघ १ गते मनाइने मूल पर्वको पूर्वसन्ध्यामा आज पुस मसान्तका दिन दाङका घोराही, तुलसीपुर, देउखुरी क्षेत्रका थारु बस्तीहरू उत्सवमय बनेका छन् ।
दाङका थारु गाउँहरूमा आज बिहानैदेखि सामूहिक रूपमा सुँगुर काट्ने र मासुको जोहो गर्ने काम भइरहेको छ । आज राति ढिक्री, मासु र अनदीको रोटी जस्ता परिकार खाएर ‘मघौटा’ नाच नाच्दै जाग्राम बस्ने चलन छ । आजको खानपिन र रमाइलोसँगै भोलि बिहानै ‘माघ स्नान’ गरिन्छ ।
माघीकै अवसरमा भोलि र पर्सी गाउँको नयाँ नेतृत्व चयन गर्ने तयारी पनि सँगसँगै भइरहेको छ । गाउँको विकास र सामाजिक कामको नेतृत्व गर्ने बरघर, भल्मन्सा र चौकिदार छनोट गर्न थारु समुदायमा छलफल र भेलाको तयारी भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुशीराम चौधरीले माघ पर्वमा नयाँ नेतृत्व चयन गर्ने प्रचलन कायमै रहेको बताउनुभयो ।
युवायुवतीहरू परम्परागत पहिरन र गहनामा सजिएर नाचगान गर्न शुरु गरिसकेका छन् । विशेषगरी देउखुरी क्षेत्र र पश्चिम दाङका गाउँहरूमा माघीको अवसरमा आयोजना गरिएका विभिन्न सांस्कृतिक महोत्सवहरूले माहोल झनै तताएको छ ।
भोलि माघ १ गते बिहानै दाङका बबई, राप्ती र विभिन्न खोलाहरूमा गएर स्नान गर्ने श्रद्धालुहरूको भीड लाग्नेछ । माघ पर्वकै अवसरमा दाङका विभिन्न स्थानमा माघी महोत्सव र मेलाहरूको आयोजना गरिएको छ । स्थानीय थारु सङ्घसंस्थाहरूले आफ्नो मौलिक कला, संस्कृति र खानपानको प्रवद्र्धन गर्न ठाउँ–ठाउँमा प्रदर्शनी र प्रतियोगिताहरू सञ्चालन गरिरहेका छन् ।














