२०८२ फाल्गुन २६ गते मङ्गलवार

आठ लाख बालबालिका विद्यालयबाहिर


दाङ । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका छैनन् भने बाँकी ५० प्रतिशत बालबालिकाले बिचैमा विद्यालय छाड्ने गरेका छन् ।

राष्ट्रिय जनगणना, २०७८ को ‘नेपालमा शिक्षा र समावेशिता’ विषयक प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गर्दै यो तथ्य देखाएको हो । विद्यालय नजाने र बिचैमा विद्यालय छाड्ने बालबालिकामा सबैभन्दा धेरै भौगोलिक रूपमा विकट जिल्ला र न्यून आयस्तर भएका सीमान्तकृत समुदायमा धेरै देखिएको छ ।

विद्यालयबाहिर रहने जोखिम प्रारम्भिक उमेर पाँच वर्ष र माध्यमिक तहमा प्रवेश गर्ने उमेर १० देखि १४ वर्षको उच्च रहेको छ । खास गरी कक्षा ५ पछिका वर्षहरूमा विद्यालय छोड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको कार्यालयले औँल्याएको छ । प्रादेशिक रूपमा हेर्दा कहिल्यै विद्यालय नगएका बालबालिकाको सङ्ख्या ६० प्रतिशत रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा भने किशोरावस्थामुनिका बालबालिकाका विद्यालयबाहिरका बाललिकाको अनुपात ५ प्रतिशतभन्दा कम रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्यले मधेशी, दलित भाषिक र अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्ने बताउनुभयो । उक्त समुदायको तुलनामा भने पहाडी जातजाति र जनजातिमा विद्यालयबाहिर रहने बालबालिकाको सङ्ख्या न्यून रहेको छ । त्यस्तै पाँच वर्षभन्दा माथिका व्यक्तिको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । त्यसमा पुरुषको साक्षरता ८३.६ र महिलाको साक्षरता ६९.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस