२०८३ बैशाख १३ गते आइतवार

१४ औँ सारंगी दिवस : मौलिक कला जोगाउन युवा पुस्ताको सक्रियतामा जोड


दाङ। नेपाली लोक संस्कृतिको अभिन्न अङ्ग मानिने सारंगीको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ तुलसीपुरमा १४ औँ सारंगी दिवस मनाइएको छ ।

वसन्त पञ्चमीको अवसरमा शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित रक्षाचौरको गणेश टोलमा आयोजित कार्यक्रममा गन्धर्व समुदायको पहिचान र यसको ऐतिहासिक महत्वका विषयमा चर्चा गरिएको छ ।

टोलका अध्यक्ष गणेश गन्धर्वको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

लोप हुँदै गएको सारंगी कलालाई पुनर्जागरण गर्नुपर्ने सन्देशका लागि हरेक वर्ष बसन्त पञ्चमीको अवसरमा सारंगी दिवस मनाउने गरिएको छ । कार्यक्रममा मानवअधिकारकर्मी सुशिल बस्नेत, लोकमणी गौतम, राम बहादुर बैरागी र सुशिल दुखी लगायतका वक्ताहरूले सारंगीको महत्वमाथि प्रकाश पार्दै

पछिल्लो समय आधुनिकताको चपेटामा परेर मौलिक बाजाहरू हराउँदै जानु दुःखद भएको बताउनुभयो । वक्ताहरुले संरक्षणका लागि नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

सारंगी संरक्षणमा देखिएका चुनौतीहरूलाई औंल्याउँदै वक्ताहरूले व्यावसायिकताको अभाव र नयाँ पुस्ताको घट्दो रुचिका कारण यो संकटमा परेको बताउनुभयो । सुशिल गन्धर्वको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सुशिला गन्धर्वले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न गीतहरूमा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण उमेश गन्धर्वले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस