२०८२ माघ २५ गते आइतवार

मानवीय सेवामा ‘हाम्रो पहुँच’ : वार्षिकोत्सवको अवसरमा १६ जनाले गरे रक्तदान

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा मानवीय सेवाको कार्यलाई निरन्तरता दिँदै रक्तदान कार्यक्रम गरेको छ । भोलि माघ १६ गते मनाइने वार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा बिहीबार आयोजित कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरूमा संस्थाका उपाध्यक्ष कृष्ण पोखरेल, सहसचिव चिरन्जीवी पौडेल, निवर्तमान कोषाध्यक्ष बिजय सुवेदी र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल रहनुभएको छ ।

त्यस्तै हाम्रो पहुँच सेकेन्डरी स्कुलका सहायक प्रधानाध्यापक शिव पुन र शिक्षकहरू सावित्रा पोखरेल, घनश्याम वली, सपना अधिकारी, समिता केसी, अनिता चौधरी एवं मनिषा बिकले पनि रक्तदान गर्नुभएको छ । यसैगरी भीम पौडेल, यमुना आचार्य, बम बहादुर बस्नेत, तुलसीराम भण्डारी र राजकुमार चौधरीले पनि रक्तदान गर्नुभएको छ ।

युवा सरोकार उपसमितिका संयोजक खेन्टु गिरीले पछिल्लो समय उत्सव र वार्षिकोत्सवहरूलाई केवल औपचारिकतामा मात्र सीमित नगरी रक्तदान जस्ता जीवन बचाउने कार्यसँग जोड्ने परम्पराको विकास हुँदै गएको बताउनुभयो ।

बिरामीको ज्यान बचाउन यस्ता रक्तदान कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने रेडक्रस शाखा तुलसीपुरका प्रमुख नरेश चौधरीले बताउनुभयो ।

हाम्रो पहुँच सहकारीले हरेक वर्ष उत्सवको समयमा रक्तदानलाई प्राथमिकता दिएर समाजमा ‘रक्तदान नै जीवनदान हो’ भन्ने चेतना फैलाउन यस्ता किसिमका कार्यक्रम गर्दै आएको छ । संस्थाले भोलि माघ १६ गते आफ्नो १८ औँ वार्षिकोत्सव विभिन्न औपचारिक एवं रचनात्मक कार्यक्रमहरूका साथ मनाउँदैछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस