२०८२ फाल्गुन २९ गते शुक्रवार

पुर्खाको इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न धनञ्जय गोत्रीय भण्डारीहरू सक्रिय

दाङ । आफ्नो जरा र पुर्खाको गौरवशाली इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि विशेष संकल्पका साथ तुलसीपुरमा झुलेनी सेवा समाज नेपाल दाङले आफ्नो चौथो स्थापना दिवस मनाएको छ ।

धनञ्जय गोत्रीय भण्डारीहरूको साझा संगठनले आफ्नो कुलको संस्कार र रीतिरिवाजलाई समयको बहाबसँगै हराउन नदिने प्रण समेत गरे स्थापना दिवस मनाएको हो ।

समाजका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता तथा धनञ्जय गोत्रीय भण्डारी समाजका अध्यक्ष सूर्य भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा भण्डारी वंशको उत्पत्ति र विकासका पाटाहरूमाथि गहिरो मन्थन गरिएको छ । संस्थापक अध्यक्ष गोविन्दराज भण्डारीले समाजले स्थापनाकाल देखि नै भण्डारी समुदायलाई जोड्न र सामाजिक कार्यमा पुर्‍याएको योगदानको नालीबेली प्रस्तुत गर्नुभएको छ ।

समाजका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीले तयार पार्नुभएको भण्डारीहरूको इतिहास सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरिएको छ । जसलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले प्रस्तुत गर्दै नयाँ पुस्ताले आफ्नो पुर्खाको संघर्ष र इतिहास बुझ्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, समाजका सहसचिव ऋषि भण्डारी र सेवानिवृत्त कर्मचारी हिरालाल भण्डारीले मान्दै आएका रीतिरिवाज र संस्कारहरू केवल परम्परा मात्र नभएर हाम्रो पहिचान भएको र यसलाई समयसापेक्ष परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

समाजका उपाध्यक्ष सुरज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णु भण्डारीले गर्नुभएको हो । औपचारिक कार्यक्रम भन्दा पनि एउटा पारिवारिक जमघट जस्तो देखिएको यस कार्यक्रमले संस्कार बचाउने अभियानमा एउटा नयाँ इँटा थपेको अगुवाहरु बताउँछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस