२०८३ साउन ११ गते सोमवार

तुलसीपुरमा गोठमै पुगेर पशुको निःशुल्क उपचार सेवा सुरु

दाङ। दाङ तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले गोठमै पुगेर निःशुल्करुपमा पशु उपचार सेवाको औपचारिक सुरुवात गरेको छ । पशु प्राविधिक नवराज रेग्मीले पशुको उपचार गरेर नि : शुल्क उपचार सेवाको शुभारम्भ गरिएको हो ।

बिहिबार वडा नम्बर ८ गहतेस्थित पशुपालक किसान शसिराम बुढाथोकीको गाई फर्ममा रहेका पशुहरूको उपचार गर्दै उपमहानगरपालिकाले यस अभियानको थालनी गरेको हो ।

गोठमै पुगेर पशुको निशुल्क उपचार कार्यक्रमका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरप्रमुख टिकाराम खड्काले यो सुरुवात मात्र भएको र आगामी आर्थिक वर्षमा किसानहरूको माग र आवश्यकतालाई हेरेर बजेटमा थप वृद्धि गर्न सकिने बताउनुभयो ।

नगरका सबै किसानले यो सेवा सहजै पाउने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो । विगत लामो समयदेखि गाई पाल्दै आउनुभएका व्यावसायिक किसान शसिराम बुढाथोकीले गोठमै निःशुल्क सेवा पाउँदा निकै राहत महसुस बताउनुभयो ।

बेलाबेलामा पशुवस्तुमा देखिने स्वास्थ्य समस्या समाधानका लागि यसअघि निजी प्राविधिकहरूलाई ठुलो रकम खर्च गर्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीय सरकारले घरदैलोमै सेवा पुर्‍याएपछि उहाँ उत्साहित हुनुहुन्छ ।

पशु बिरामी पर्दा कि त पशुसेवा शाखासम्म पशुलाई लैजानुपर्ने कि त महँगो शुल्क तिरेर निजी प्राविधिक गोठमा बोलाउनुपर्ने अवस्थाको अन्त्य भएपछि अन्य किसानहरू पनि खुसी भएका छन् ।

तुलसीपुर–७ श्रीगैंका भैंसीपालक किसान छविलाल भण्डारी र तुलसीपुर–३ का गाईपालक किसान बिष्णुप्रसाद शर्माले यो कार्यक्रमले व्यावसायिक पशुपालनमा लागेकाहरूलाई ठुलो आर्थिक र प्राविधिक सहयोग पुग्ने बताउनुभयो ।

पशु सेवा शाखाका प्रमुख डा. मनोज वलीका अनुसार उपमहानगरपालिकाका १९ वटै वडाका किसानले यो सेवा लिन सक्नेछन् । यद्यपि, तुलसीपुरको स्थायी बासिन्दा नभएकाहरूको हकमा भने व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

यसअघि पनि कृत्रिम गर्भाधान र सुत्केरी पशुलाई आहारा वितरण जस्ता कार्यक्रम सञ्चालन गरिसकेको उपमहानगरले अहिलेको उपचार सेवामार्फत पशु स्वास्थ्यलाई थप प्राथमिकतामा राखेको छ ।

पशु उपचार सेवा उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहागरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले किसानलाई बिरामी पशुको उपचार गराउन समस्या भएकाले उपमहानगरपालिकाले गोठमै पुगेर उपचार सेवा शुरु गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण पशु सेवा शाखाका सुनिता शर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस