दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्यहरूलाई आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तबारे सदस्यहरूलाई सुसूचित गराउन सहकारी संस्थाले शनिबार ‘आधारभूत सहकारी शिक्षा’ सम्बन्धि तालिम प्रदान गरेको हो ।
संस्थाको सूचना, तालिम तथा अध्ययन उपसमितिका सदस्य भौनाराम चौधरीको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । तालिमको मूख्य प्रशिक्षकमा संस्थाका अध्यक्ष शुक्रराज भण्डारी रहनुभएको थियो ।
प्रशिक्षणका क्रममा अध्यक्ष भण्डारीले सहकारीमा सेयर सदस्यहरूको अधिकार, कर्तव्य र जिम्मेवारीका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले सहकारीलाई दिगो बनाउन सदस्यहरूको सक्रिय सहभागिता र वित्तीय साक्षरता अपरिहार्य रहेको कुरामा जोड दिनुभयो । संस्थाको कर्मचारी माधुरी पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।














