२०८३ बैशाख ६ गते आइतवार

दाङका अस्थायी मतदान केन्द्रमा पनि मतदान जारी, दुई सय बढीले गरे मतदान


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङका दुईवटा अस्थायी मतदान केन्द्रबाट मतदान भएको छ । तुलसीपुर कारागार र घोराही कारागार कार्यालयमा स्थापना गरिएका अस्थायी मतदान केन्द्रमा मतदाताहरूले मतदान गरेका हुन् ।

अस्थायी मतदान केन्द्रमा तुलसीपुर कारागारबाट १०३ र घोराही कारागार कार्यालयमा ९९ जना मतदान गरेका छन् । तीमध्ये १ सय २ जना पुरुष र एकजना महिला रहेको उहाँले जानकारी दिनुभयो ।

तुलसीपुर कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रबाट १ सय ३ जनाले मतदान गरेको निर्वाचन अधिकृत शिवराम अधिकारीले जानकारी दिनुभयो । तीमध्ये ९३ जना पुरुष र एकजना महिला रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुधार केन्द्रमा रहेका ६६ जना पुरुष र एकजना महिला गरी ६७ जनाले मतदान गरेका छन् । बाँकी निजामती कर्मचारीहरूले आफूलाई पायक पर्ने स्थानमा आएर मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

उता घोराही कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा पनि मतदान जारी रहेको छ । सो केन्द्रका मतदान अधिकृत अमृत पौडेलका अनुसार ९९ जनाले मतदान गरेका हुन् । तीमध्ये ९३ जना पुरुष र ६ जना महिलाले मतदान गरेका छन् । साथै कारागारमा रहेका ३० जना कैदीबन्दीले पनि मतदान गरेका छन् भने अन्य मतदाता निजामती कर्मचारीहरू रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतदानको अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कारागार लगायतका स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरेको छ । अस्थाइ मतदान केन्द्रमा मुख्य रूपमा कारागारमा रहेका कैदीबन्दी, सुधार गृहमा रहेका व्यक्तिहरू, विभिन्न जिल्लाबाट खटिएका निजामती कर्मचारी तथा सुरक्षाकर्मीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

अस्थायी मतदान केन्द्रमार्फत नियमित मतदान केन्द्रमा पुग्न नसक्ने मतदातालाई पनि आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्रदान गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस