२०८३ जेष्ठ १९ गते मङ्गलवार

दाङमा एक महिनामा १६ वटा उजुरी दर्ता, घरेलु हिंसा र गालीगलौजका घटना बढी


दाङ । जिल्ला प्रहरी कार्यालय दाङअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा एक महिनाको अवधिमा १६ वटा उजुरी दर्ता भएका छन् ।

प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार फागुन महिनामा दर्ता भएका उजुरीमध्ये घरेलु हिंसा, कुटपिट तथा गालीगलौजका घटना बढी देखिएका छन् ।

तथ्यांकअनुसार कुल १६ उजुरीमध्ये मादक पदार्थ सेवनपछि हुने गालीगलौजसम्बन्धी ५ वटा घटना रहेका छन् भने घरायसी झैँ–झगडाका ४ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी कुटपिट तथा शारीरिक आक्रमणका ३ वटा, नागरिकता तथा विवाह दर्ता नगरीदिएको २ वटा र घरमा खान बस्न नदिएको २ वटा घटना रहेका छन् ।

दर्ता भएका उजुरीमध्ये १४ वटा सहमतिमा टुंगिएको प्रहरीले जनाएको छ भने २ वटा मुद्दा अझै विचाराधीन रहेका छन् ।

उमेर समूहका आधारमा हेर्दा १३४ जना हिंसाबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । ३६–४५ वर्ष उमेर समूहका महिलाहरू सबैभन्दा बढी प्रभावित रहेका छन् । सो समूहका ३८ जना पीडित रहेका छन् । त्यसपछि २६–३५ वर्ष समूहका ३१ जना, १८–२५ वर्ष समूहका २३ जना, १८ वर्षमुनिका २६ जना, ४६–६० वर्ष समूहका १९ जना र ६० वर्षभन्दा माथिका ७ जना पीडित रहेका छन् ।

स्थानीय तहअनुसार उजुरीको अवस्था हेर्दा घोराही उपमहानगरपालिकाबाट सबैभन्दा बढी ३१ उजुरी दर्ता भएका छन् । त्यसपछि तुलसीपुर उपमहानगरपालिकामा २८ उजुरी परेका छन् लमही नगरपालिका र राप्ती गाउँपालिकामा ६/६ वटा, गढवा, बबई र राजपुर गाउँपालिकामा ३/३ वटा, दंगीशरणमा २, बंगलाचुलीमा ११, शान्तिनगर गाउँपालिकामा ५ र अन्य क्षेत्रमा १० गरी कुल १०८ उजुरी दर्ता भएका छन् ।

यसैबीच, फागुन महिनामा ४९ जना हराएको निवेदन परेको प्रहरीले जनाएको छ । तीमध्ये ३८ जना फेला परेका छन् । हराएकामध्ये २८ जना महिला रहेकोमा १९ जना भेटिएका छन् भने २० जना बालबालिका हराएकोमा १८ जना फेला परेका छन् ।

साथै १ जना ज्येष्ठ नागरिक हराएको निवेदन परेकोमा उक्त व्यक्ति पनि फेला परिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस