दाङ । दाङमा एकै दिन ठूलो परिमाणमा अखाद्य चामल फेला परेको छ । अनुगमन टोलीले लमहीमा म्याद नाघेको, किरा परेको चामल र घोराहीमा अखाद्य वस्तु मिसावट गरिएको चामल फेला पारेको हो ।
म्याद गुज्रेको चार महिनापछि चिलिसा, घुन लागेर सडेको अवस्थामा रहेको चामललाई पुनः पालिस गरेर बजारमा लैजाने तयारीका बेला अनुगमन टोलीले बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अनुगमन टोलीले अखाद्य चामललाई प्रशोधन गरेर प्याकिङ गर्दै गरेको अवस्थामा राइस मिलबाट एक सय १२ बोरा अखाद्य चामल बरामद गरेको हो ।
लमही नगरपालिका–५ गोरक्षटोलस्थित निजाम कुटानी पिसानी मिलमा सोना मन्सुली जातको अखाद्य चामललाई प्रशोधन गरिररहेको अवस्थामा बरामद गरिएको हो । कुहिएको अवस्थामा रहेको चामललाई राइस मिलबाट पुनः पालिस गरेर प्याकिङ गर्न थालेको अवस्थामा चामल बरामद गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिनुभयो ।
लमहीस्थित आरके सप्लायर्सले उक्त चामल प्रशोधनका लागि राइस मिलमा पठाएको खुल्न आएको अनुगमन टोलीले जानकारी दिएको छ । बरामद गरिएको चामल ल्याव परीक्षणका लागि खाद्य, गुणस्तर तथा नापतौल विभागलाई बोलाइनेछ ।
वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको टोली सम्बन्धित स्थानमा पुगेको थियो । उपभोक्ताबाट प्राप्त गोप्य सूचनाको आधारमा अनुगमन टोली राइस मिलमा पुगेको थियो ।
अनुगमन टोलीले गाडीमा लोड गरेको ३७ बोरा, पालिस गरेर प्याक गरिएको ३४ बोरा, पालिस गर्न बाँकी रहेको १२ बोरा र मिलभित्र पालिस गरिरहेको २९ बोरा चामल बरामद गरेको हो । बरामद गरिएको चामल लमही नगरपालिकाले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
२५ किलोका दरले बोरामा प्याकिङ गरिएको अखाद्य चामल करिव दुई लाख २२ हजार बढी मूल्यको छ । उद्योग वाणिज्य संघले उपभोक्ताको हितलाई ध्यानमा राखेर कारोबार गर्न पटक–पटक अनुरोध गर्दै आएको थियो । तर व्यवसायीहरुको तर्फबाट हुने लापरवाहीले थप जटिलता थप्दै लगेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट गरिने बताउनुभयो । यस्तै स्थानीय प्रशासनले अखाद्यवस्तुको बिक्री वितरण गर्ने कार्यमा संलग्नहरुलाई कारवाही गरिने बताउनुभयो ।
यस्तै घोराहीमा पनि जिल्ला प्रशासनसहितको अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित श्रीराम स्टोर्समा कैलाशी ब्राण्डको चामलमा बाह्य पदार्थको मिसावट भेटिएको छ ।
चामलमा अखाद्य वस्तु मिसावट भेटिएपछि अनुगमन टोलीले त्यहाँ रहेको उक्त ब्राण्डको १०३ बोरा चामल सम्बन्धित उद्योगमै फिर्ता गर्न निर्देशन दिएको छ । मिसावट भएको उक्त चामललाई सम्बन्धित कम्पनीमा सात दिनभित्र फिर्ता गरेको सक्कल बिल भर्पाई फोटो र भिडियोसहित जिल्ला प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ । –नयाँ युगबोध दैनिकबाट



















