२०८३ जेष्ठ २८ गते बिहिवार

मालपोत तुलसीपुरबाट पक्राउ परेकालाई सोधपुछ गरेर छोडियो

दाङ। मालपोत कार्यालय तुलसीपुरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र प्रक्रियामा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीहरूलाई पक्राउ गरी सोधपुछ गरेको छ । प्रहरीले कार्यालय हाताभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीहरूले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको र बिचौलियाहरूको चलखेल बढेको र लेखापढी व्यवसायीले बढी रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका ८ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोधपुछ गरेर छोडिएको प्रहरीले जनाएको छ । आईतबार कार्यालयबाट बिचौलिया भन्दै पक्राउ परेका उनीहरुबाट कुनै प्रमाण नभेटिएपछि प्रहरीले छोडेको हो ।

पक्राउ पर्नेमा व्यवसायी सेवकराम आचार्य, निमकान्त लामिछाने, अरुण चौधरी, रामबहादुर चौधरी, विनिराम बस्नेत, प्रदिप कुमार रेग्मी, प्रमोद अधिकारी र माधव भण्डारी रहेका छन् ।

पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियामुक्त वातावरण बनाउने उद्देश्यले सुरक्षा निकायले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्दै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस