दाङ । पेट्रोलियम पदार्थको खपत घटाउन आजदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्तामा पाँच दिनमात्रै खुल्ने भएका छन् । विश्वबजारमा इन्धनको आपुर्तिमा देखिएको समस्यालाई मध्यनजर गरी सरकारले आजदेखि हप्तामा पाँच दिनमात्रै सरकारी कार्यालय र शैक्षिक संस्था संचालन गर्ने निर्णय गरेको हो ।
अब आजदेखि हरेक हप्ता सोमबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालनमा आउनेछन् । तर शैक्षिक संस्थाको हकमा दैनिक समय निर्धारण गरिएको छैन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण आजदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले हिजो नै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।



















