दाङ । यातायात कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गरिएको छ । कार्यालयले आफ्नो सेवा प्रवाहलाई थप सरल, सहज र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको हो ।
यातायात व्यवस्था कार्यालय तुलसीपुरले एक सूचना जारी गरेर सेवा प्रवाहका क्रममा हुने बिचौलियाहरूको अनावश्यक चलखेल रोक्ने र नागरिकलाई प्रत्यक्ष रूपमा सहजीकरण गरिने जनाएको छ ।
विगत केही समयदेखि यातायात कार्यालयहरूमा लेखनदास तथा बिचौलियाहरूको प्रवेशका कारण सेवाग्राहीले दुःख पाउने गरेको र भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै नागरिकस्तरबाट व्यापक गुनासाहरू आएका थिए ।
सोही उजुरी र गुनासोको सम्बोधन गर्न यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको परिपत्रअनुसार कार्यालयले कडाइ सुरु गरिएको छ ।
अबदेखि कार्यालय परिसरभित्र सेवाग्राहीलाई सहजीकरण गर्ने बहानामा अनावश्यक दुःख दिने वा चलखेल गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
यस्तै कार्यालयका विभिन्न शाखाहरूमा कर्मचारी बाहेक अन्य अनाधिकृत व्यक्तिहरूलाई प्रवेश नगर्न र नगराउन समेत निर्देशन दिइएको छ । प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखापढी व्यवसायीहरूले भने कार्यालय परिसरभन्दा बाहिर रहेर मर्यादित तवरले आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सेवाग्राहीको सहजताका लागि कार्यालयले आफ्नै परिसरमा ’नागरिक सहायता कक्ष’ स्थापना गरी सेवा दिन सुरु गरेको छ । यदि सेवा लिने क्रममा कसैले दुःख दिएमा वा अवाञ्छित गतिविधि गरेमा सिधै कार्यालय प्रमुख वा सूचना अधिकारीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।















