दाङ । तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले वडाका ४४ जना बुहारी र ९० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारमा मैत्रीपूर्ण वातावरण सिर्जना गर्दै ‘सासु–ससुरा’को राम्रोसँग हेरचाह गर्ने बुहारीहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

वडाका विभिन्न टोलबाट छनोट गरिएका बुहारीहरूलाई सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको छ । साथै, ८० वर्षमाथिका ९० जना जेष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

उनीहरूलाई हर्लिक्स उपहारस्वरूप प्रदान गरिएको थियो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले जेष्ठ नागरिकको उचित स्याहार–सुसार गर्नु सन्तानको मुख्य कर्तव्य भएको बताउनुभयो ।

वडाध्यक्ष मानबहादुर रावतले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो । उहाँले आगामी दिनमा पनि समाजहितका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव पदम भण्डारीले गर्नुभएको हो ।















