२०८३ बैशाख १६ गते बुधवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोग उपचार सेवा सुरु

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोग उपचार सेवा सुरु भएको छ । प्रतिष्ठानमा फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेती आएपछि उक्त सेवा सुरु भएको हो ।

डा. उप्रेतीले प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको सुरुवात कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिसबाट गरिएको हो । दाङमा पहिलो पटक प्रतिष्ठानबाट कोरोनरी एन्जियोग्राफी सेवा सुरु भएको जनाइएको छ ।

उहाँले थप उपकरण आएमा हर्ट अट्याक भएर आउने बिरामीको एन्जियोप्लास्टीसमेत गर्न सकिने बताउनुभयो । क्याथल्याब मेसिन आइसकेकाले मुटुरोग उपचारमा थप सहजता हुने उहाँको भनाइ छ ।

प्रतिष्ठानमा मुटुको इको सेवा पनि सञ्चालनमा रहेको जनाएको छ । मुटुरोग उपचारका लागि आवश्यक थप उपकरण ल्याउने प्रक्रिया अघि बढाइएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस