२०८३ जेष्ठ २७ गते बुधवार

यस वर्ष विपदबाट देशभर २ लाख जनसंख्या प्रभावित हुने आकलन


दाङ । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत समेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको छ । प्राधिकरणका अनुसार यस वर्ष मनसुन सुरुको अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भएता पनि सरदर तापक्रम वृद्धि हुनसक्ने आकलन छ ।

विपद् प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ मा उल्लेख भएअनुसार सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश हुने देखिएको छ ।लुम्बिनीमा ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जना यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने आकलन छ ।

विगत १० वर्षको अवधिमा मनसुनजन्य विपदबाट ३ हजार ७४ जनाको मृत्यु गएको र ५०२ जना बेपत्ता भएको तथ्यांक छ । पहिरोबाट सबैभन्दा धेरै १ हजार ४८३ जनाको मृत्यु भएको छ । चट्याङबाट ८०५, बाढीबाट ६७८ र भारी वर्षाबाट १०८ जनाको मृत्यु भएको छ ।

यस वर्ष पनि यस्तै प्राकृतिक विपद्बाट जनधनको क्षति हुनसक्ने भएकाले विपद् प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न मन्त्रालयहरुलाई जिम्मेवारी बाँडफाँट गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस