२०८३ जेष्ठ २० गते बुधवार

किशोर–किशोरीलाई सामाजिक सञ्जाल र लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना

दाङ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा किशोर–किशोरीहरूका लागि सामाजिक सञ्जालको सही प्रयोग र दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

वडा कार्यालयको सहयोगमा नेचर प्रिजर्वेसन फोरमले अम्बेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा उक्त सचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै बालअधिकारकर्मी नवराज लामिछानेले किशोरावस्था मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील समय भएको बताउनुभयो ।

उहाँले यो उमेर अन्तरनिहित गुण र प्रतिभा प्रस्फुटन गर्ने समय भएकाले किशोर–किशोरीको मनोभावना बुझ्न जरुरी रहेको औंल्याउनुभयो । मानव विकासको दृष्टिकोणले यो अवस्था सबैभन्दा बढी जोखिमपूर्ण हुने भएकाले यस समयमा विशेष ख्याल राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, कार्यक्रमका सहजकर्ता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालले सामाजिक सञ्जालको गलत प्रयोगले निम्त्याउने क्षति, लागूऔषधको दुर्व्यसनले स्वास्थ्यमा पार्ने गम्भीर असर र यसका कानुनी प्रक्रियाबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभयो ।

साइबर अपराधका कानुनी प्रावधानबारे प्रष्ट पार्दै प्रहरी निरीक्षक हमालले सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर अपराध गरेमा विद्युतीय कारोबार ऐन अनुसार २ लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मोहन पौडेलले विद्यालय तहका बालबालिकाहरू नै पछिल्लो समय लागूऔषध दुर्व्यसनजस्ता गलत क्रियाकलापमा संलग्न हुन थालेकाले वडाले यो सचेतना अभियान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मात्रै वडाका दुई वटा विद्यालयमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

वडा सदस्य खिमकान्त पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक तथा किशोर–किशोरीहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस