२०८३ असार ११ गते बिहिवार

तुलसीपुरमा उत्कृष्ट किसान नगदसहित सम्मानित

दाङ । तुलसीपुरमा उत्कृष्ट किसान नगदसहित सम्मानित भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले बिहिबार व्यावसायिकरुपमा पशुपालन गरिरहेका उत्कृष्ट १२ किसानलाई जनही नगद १५ हजारसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

सम्मानित हुने किसानहरुमा वडा नम्बर १ का निमबहादुर बुढा मगर, वडा नम्बर ३ बिष्णप्रसाद शर्मा, ४ का मनोज चौधरी, ६ का डम्बर डाँगी, ७ कल्पना केसी ढकाल, ८ का शसिराम बुढाथोकी, ९ का सुन्तली चौधरी रहनुभएको छ ।

यस्तै तुलसीपुर–११ का डिल्ली बहादुर वली, वडा नम्बर १४ का चैत्या चौधरी, वडा नम्बर १५ का कृष्ण प्रसाद शर्मा, वडा नम्बर १६ का ख्याम कुमारी वली र वडा नम्बर १८ का मधुमाया जिसी पनि जनही १५ हजारसहित प्रमाणपत्रले सम्मानित हुनुभएको हो ।

यस्तै चार्जेबल स्पे्रयर र बुट पनि वितरण गरिएको छ । उपमहानगरपालिले किसानको सहजताका लागि तुलसीपुर–३ दमारगाउँका नारायण गौतम, तुलसीपुर–१६ जहता गाउँका बिमलकुमार पोखरेल, तुलसीपुर–१७ मानपुरका तिलकराम बस्नेत, तुलसीपुर–१० पड्ढाका हरिकला खत्री, तुलसीपुर–१४ पन्ननपुरका खुसलराम खड्का, तुलसीपुर–६ गौलौराका बिमला कुमारी न्यौपानेलाई शत प्रतिशत अनुदानमा स्पे्रयर र बुट वितरण गरिएको छ ।

यस्तै तुलसीपुर–७ बुढागाउँका कल्पना केसी ढकाल, तुलसीपुर–१२ हरिपौराका हिराकुमारी वली, तुलसीपुर–१७ जिनुवागाउँका केबल रोकाय, तुलसीपुर–८ गहतेका शसिराम बुढाथोकी, तुलसीपुर–१७ बनकट्टीका सुनिल बस्नेत, तुलसीपुर–६ गोठलीगाउँका रामचन्द्र भुषाललाई पनि शत प्रतिशत अनुदानमा स्पे्रयर र बुट वितरण गरिएको छ ।

नगरप्रमुख टिकाराम खड्काले अघिल्ला वर्षहरुमा किसानमैत्री बजेट बन्न नसकेपनि पछिल्लो दुई वर्षयता किसानमुखी बजेटलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले कृषि र पशुपालनको लागि आगामी आर्थिक वर्षमा करिब ८ करोड बजेट बिनियोजन गरेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले बिगतदेखि कृषि उत्पादन गर्नेलाई सम्मान गर्ने वातावरण नहुँदा कृषि क्षेत्र अझैपनि सोचेअनुरुप फराकिलो हुन नसकिरहेको बताउनुभयो । उहाँले किसानको सम्मानका लागि नै उपमहानगरपालिकाले किसानलाई सम्मानदेखि अनुदानमा कृषि उपकरण वितरण गरेको बताउनुभयो ।

पशु सेवा शाखाका प्रमुख डा. मनोज वलीले उत्कृष्ट किसानका लागि आवेदन माग गरिएकोमा १८ जनामध्ये १२ जना छनौटमा परेको बताउनुभयो । उहाँले १९ वटै वडाका किसानलाई सम्मान गर्ने सोच भएपनि सबै वडाबाट किसानको आवेदन आउन नसकेको बताउनुभयो ।

तुलसीपुर–१ का वडाअध्यक्ष हुमकान्त सापकोटाले किसानको हकहितका लागि किसान संजाल आवश्यक रहेको बताउनुभयो । उहाँले किसानहरु एक हुन नसक्दा कृषि उत्पादनले सहि मूल्य पाउन नसकेको बताउनुभयो ।

किसान शसिराम बुढाथोकीले उपमहानगरपालिकाले सम्मानले किसानलाई थप हौसला मिलेको बताउनुभयो । कृषि विकास शाखाका संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण पशु सेवा शाखाका सुनिता शर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस