तुलसीपुर, १३ असार । सामाजिक सेवामा सक्रिय रहनुभएका स्वर्गीय मोहनलाल रोकाको स्मृतिमा तुलसीपुर उपमहानगरपालिका–१९ वरको डाँडामा रहेको ऐतिहासिक वरको चौतारीको संरक्षण गरिएको छ ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको चौतारीलाई रोका परिवारको आर्थिक तथा भौतिक सहयोगमा पुनःनिर्माण तथा संरक्षण गरिएको हो ।
२०५४ सालमा जनस्तरबाट निर्माण गरिएको उक्त चौतारी गाउँको बीच भागमा रहेर स्थानीयको विश्रामस्थलका रूपमा प्रयोग हुँदै आएको थियो ।
समयसँगै चौतारीका संरचना कमजोर हुँदै गएपछि यसको संरक्षण आवश्यक देखिएको स्वर्गीय मोहनलाल रोकाका छोरा नारायण रोकाले बताउनुभयो ।
उहाँले सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका बुवाको सम्झनालाई जीवन्त राख्न चौतारी संरक्षण गरिएको बताउनुभयो ।
चौतारी निर्माणमा नेतृत्व गर्नुभएका ८६ वर्षीय दुर्गाबहादुर खत्रीले विगतमा चौतारी गाउँलेहरूको सुख–दुःखको साझा थलो रहेको स्मरण गर्नुभयो ।
उहाँका अनुसार किसानहरू वर्षामा जोतारा र रोपारा बिसाउने, खाजा–नास्ता खाने, गोठाला तथा बटुवाहरूले विश्राम गर्ने महत्वपूर्ण स्थानका रूपमा चौतारी प्रयोग हुँदै आएको थियो ।
संरक्षण पश्चात् आयोजित उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर–पिपल संरक्षण अभियान वडाको प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले यस्ता सम्पदाको संरक्षणले वातावरण संरक्षणसँगै सामाजिक एकता र पुरानो संस्कृतिको संरक्षणमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो। चौतारी संरक्षणपछि गाउँमा सामाजिक तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सहज हुने उहाँको भनाइ थियो।
स्वर्गीय मोहनलाल रोकाका जेठा दाजु शोभाकर रोकाले बुवा, आमा र भाइको स्मृतिमा रोका परिवारबाट संयुक्तरूपमा प्रतीक्षालय निर्माण गर्ने घोषणा गर्नुभयो।
दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा २०६२ वैशाख १० गते सहादत प्राप्त गर्नुभएका मोहनलाल रोकाको स्मृतिमा उहाँकी श्रीमती शुशीला रोका, छोराहरू नारायण र द्रोण तथा नाति जीतबहादुर रोकाको पहलमा चौतारो संरक्षण गरिएको हो ।

















