दाङ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण गरिएको छ ।
तुलसीपुर १९ हाडिमेका ईश्वर पोख्रेल र मुन्नादेवी पोख्रेल परिवारले आफ्ना दिवङ्गत अभिभावकको सम्झनामा निर्माण गर्नुभएको हो । बुवा जागेश्वर ब्राह्मण, आमा खिमादेवी,दिदी यमुना एवम् भाइ हेमन्त पोख्रेलको सम्झनामा निर्माण गर्नुभएको हो ।
कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले छिल्लीकोट क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा नयाँ संरचनाले पर्यटक तथा भक्तजनलाई सहयोग पुग्ने बताउनुभयो ।
निर्माणकर्ता ईश्वर पोख्रेलले आफ्ना बुवा जागेश्वर ब्राह्मणको तपस्थलीका रूपमा रहेको छिल्लीकोट क्षेत्रमा उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले धर्मशाला र शिवालय निर्माण गरिएको बताउनुभयो । उहाँले निर्माण गरिएका संरचनाको संरक्षण र उचित व्यवस्थापन भए आगामी दिनमा यस क्षेत्रको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नर्मित संरचना निर्माणकर्ता ईश्वर र मुन्नादेवी पोख्रेल दम्पतीले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का, वडा नं १९ का वडाध्यक्ष प्रेमनाथ योगी र कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख खड्काले छिल्लीकोट क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व संरक्षण गर्न उपमहानगरपालिकाले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले सरकारी तथा निजी क्षेत्रबाट निर्माण भएका सम्पदाको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
उहाँले छिल्लीकोट क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जानकारी दिँदै त्यस क्षेत्रको थप सुरक्षाका लागि उपमहानगरपालिकाको तर्फबाट सिसिटिभी जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणका लागि नीति निर्माण गरी कार्यान्वयनमा लैजाने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले छिल्लीकोटको ऐतिहासिक, धार्मिक र पर्यावरणीय महत्व जोगाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। स्थानीय सरकारले त्यस क्षेत्रमा स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासमा समेत सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । नगर प्रवक्ता माधव वलीले छिल्लीकोटमा पर्यटकको आगमन बढ्दै गएकाले होमस्टे सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा नं १९ का वडाध्यक्ष प्रेमनाथ योगीले धर्मशाला र शिवालय निर्माणपछि टाढाबाट आउने पर्यटक तथा भक्तजनलाई आवास र विश्राममा सहज हुने बताउनुभयो ।
कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनका अनुसार छिल्लीकोटमा दैनिक करिब एक सय ५० र सार्वजनिक बिदाका दिन पाँच सयदेखि सात सयसम्म पर्यटक आउने गरेका छन् । उहाँले क्षेत्रको दीर्घकालीन विकासका लागि खानेपानी, सडक तथा अन्य पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
यसैबीच धर्मशाला र शिवालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आर्थिक विकास समितिका संयोजक एवम् नगर प्रवक्ता माधव वली, नेकपा एमाले वडा नम्बर १९का वडा कमिटी अध्यक्ष लोकबहादुर रोका, वडा सदस्य रामबहादुर पौडेललगायतका मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिवालय एवम् धर्मशाला निर्माणमा विशेष सहयोग गर्ने श्रमिक तुलसीपुर १९ हाडिमेका रामप्रसाद चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रम निर्माणकर्ता ईश्वर पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन देवारण्य छिल्लीकोट महाअभियानका सचिव गोकर्ण पौडेलले गर्नुभएको हो ।



















