२०८३ भाद्र २९ गते सोमवार

दुध बेचेरै वार्षिक २४ लाख आम्दानी : स्वदेशमै सम्भावना देख्दै विष्णुप्रसाद

दाङ । बिहानको झिसमिसे उज्यालोसँगै तुलसीपुर–३ स्थित विष्णुप्रसाद शर्माको गोठमा चहलपहल सुरु हुन्छ । गाईभैँसीलाई दाना–घाँस खुवाउनेदेखि दुध दुहुनसम्मको काममा परिवार नै व्यस्त हुन्छ । केही वर्षअघि सामान्य रूपमा सुरु भएको यही दैनिकी आज उहाँको परिवारको मुख्य आम्दानीको आधार बनेको छ ।

लोकगायक पशुपति शर्माको चर्चित गीत ‘मलाई अमेरिका नि यै, मलाई जापान पनि यै’ जस्तै विष्णुप्रसाद शर्माले पनि स्वदेशमै परिश्रम गरेर राम्रो भविष्य बनाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

वैदेशिक रोजगारीको बाटो नसमाती उहाँले पशुपालनलाई रोज्नुभयो । आज त्यसैबाट उहाँले वार्षिक १८ देखि २४ लाख रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ ।

कोरोना महामारीका बेला २०७७ सालतिर करिब १८ लाख रुपैयाँको लगानीबाट पशुपालन व्यवसाय सुरु गर्नुभएका शर्माको फर्म अहिले विस्तार भएर करिब ५० लाख रुपैयाँ बराबरको भइसकेको छ । अहिले उहाँको गोठमा ३८ वटा गाईभैँसी छन् ।

दैनिक ९५ लिटरसम्म दुध उत्पादन हुने फर्मबाट उहाँले प्रतिलिटर ९० रुपैयाँसम्मका दरले दुध बिक्री गर्दै आउनुभएको छ । यसबाट मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

‘सुरुमा चुनौती धेरै थिए, तर निरन्तर मेहनत गरेपछि अहिले व्यवसायले राम्रो प्रतिफल दिन थालेको छ,उहाँ भन्नुहुन्छ–‘परिवारसँगै काम गर्दा खर्च पनि घटेको छ र आम्दानी पनि बढेको छ ।’

यो व्यवसायले उहाँको परिवारलाई मात्रै होइन, अन्य तीन जनालाई समेत रोजगारी दिएको छ । परिवारका सदस्यहरू पनि यही व्यवसायमा सक्रिय छन् । यसले पशुपालनलाई गाउँमै रोजगारी र आयआर्जनको भरपर्दो माध्यमका रूपमा स्थापित गर्न सकिने देखाएको छ ।

यद्यपि व्यवसाय विस्तारसँगै चुनौती पनि थपिएका छन् । विशेषगरी गाईभैँसीका लागि आवश्यक दाना तथा आहाराको मूल्य निरन्तर बढ्दै गए पछि दुधको मूल्य त्यसअनुसार नबढेको उहाँको गुनासो छ ।

‘दाना निकै महँगो भएको छ । उत्पादन लागत बढिरहेको छ तर दुधको मूल्य त्यही अनुपातमा बढेको छैन ।’ उहाँ भन्नुहुन्छ–‘यदि सरकारले किसानलाई सहुलियत कर्जा र उत्पादनमा आधारित सहयोग उपलब्ध गराउने हो भने अझ धेरै किसान यस क्षेत्रमा आकर्षित हुन सक्छन् ।’

शर्माका अनुसार पशुपालन व्यवसायलाई आधुनिक बनाउने र अझ विस्तार गर्ने योजना छ । त्यसका लागि सरकारी सहयोग, सहज कर्जा र बजारको सुनिश्चितता आवश्यक रहेको उहाँको भनाइ छ ।

स्वदेशमै बसेर मेहनत गर्न चाहने युवाका लागि विष्णुप्रसाद शर्माको यात्रा एउटा प्रेरणादायी उदाहरण हो । उचित योजना, निरन्तर मेहनत र धैर्य भए पशुपालन व्यवसायबाट पनि सम्मानजनक आम्दानी गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उहाँले व्यवहारमै प्रमाणित गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस