२०८३ भाद्र २९ गते सोमवार

रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण


दाङ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरूको यकिन तथ्यांक नरहेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनुभयो ।उहाले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

उहाका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् । महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्नेछ ।

यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ । महतका अनुसार हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमवार पनि उद्धार जारी रहेको उहाको भनाइ छ ।

उहाले लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको बताउनुभयो । हालसम्म रसुवा बाढीमा परि मृत्यु भएका ९ सय ३ जनाको शव फेला परेको छ । १० हजार बढीको उद्धार गरिएको छ भने २६७ जना घाईतेहरू उपचारपछि घर फर्किएका छन् ।

सम्पर्क विहीनहरूको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ । विपद्बाट अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ । उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीवारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस