२०८३ भाद्र २७ गते शनिवार

परम्परागत उपचारकर्तालाई मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण


दाङ । दंगीशरण गाउँपालिका–६ बागरमा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बागर सामुदायिक सिकाइ केन्द्र दंगीशरणको आयोजना, गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय, युनिसेफ नेपालको सहयोग तथा समुन्नत नेपालको प्राविधिक सहजीकरणमा कार्यक्रम भएको हो ।

बागर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष चुल्या चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष गिरीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले नहेरी समयमै समस्या पहिचान, परामर्श, उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

समुदायमा परम्परागत उपचारकर्ताहरूको पहुँच र प्रभाव महत्वपूर्ण हुने भएकाले उनीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गर्दा समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा आधारभूत अस्पताल बागरका प्रमुख डा. आकाश सापकोटाले मानसिक स्वास्थ्य समस्या पहिचान, समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार, प्राथमिक मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा पठाउने प्रक्रियाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणमा सहभागी परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान, आवश्यक सहयोग र स्वास्थ्य सेवासम्म पहुँच पुर्‍याउने विषयमा जानकारी दिइएको थियो ।

कार्यसमिति सदस्य ममता परियारको कार्यक्रमको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामुदायिक सिकाइ केन्द्रका परिचालक जया चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस