दाङ । विपद्का बेला सही र विश्वसनीय सूचना प्रवाहसँगै प्रभावित नागरिकको अधिकार र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सञ्चारिका समूह दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको ‘विपद्मा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, सूचना प्रवाह तथा महिला र बालबालिकाको सुरक्षा र राहत तथा पुनःस्थापनाका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विपद्का बेला सञ्चारमाध्यमले सही, विश्वसनीय र समयमै सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउँदै प्रभावित नागरिकका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा सञ्चार क्षेत्र र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकारकर्मी एवं पत्रकार सुशील बस्नेतले विपद्बाट प्रभावित नागरिकको जीवन, सुरक्षा, सम्मान र आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी उपाध्यक्ष पदमा चौधरीले विपद्पछि महिला तथा बालबालिकामाथि बढ्न सक्ने लैङ्गिक हिंसा र अन्य जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूह दाङकी सल्लाहकार सुलोचना गौतम, पशुपति सहकारी संस्थाकी अध्यक्ष यमुना कँडेल शाहलगायतले पनि विपद् व्यवस्थापन, महिला उद्यमशीलता तथा स्थानीय उत्पादन र सांस्कृतिक पहिचान संरक्षणका विषयमा धारणा राख्नुभएको थियो ।
सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समूहका सचिव दीप्तिशिखा चौधरीले गर्नुभएको थियो ।

























