२०८३ बैशाख १५ गते मङ्गलवार

जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा वडाध्यक्ष र सचिवसहित चार जना पक्राउ


पश्चिम नवलपरासी । जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो । मृत्यु दर्ता गर्न झुटा विवरण पेस गर्ने नारायणी पारीको सुस्तागाउँ बस्ने ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् । मियाँले वडा नम्बर ५ मा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए । त्यसलगत्तै अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन् ।

साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेसगरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा पक्राउ परेको र आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस