२०८३ बैशाख २० गते आइतवार

दाङका ८ जना युवा मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग


प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

तुलसीपुर निवासी शंकर चौधरी, धर्मराज दाहाल उपेन्द्र पौडेल अमर खत्री, दिलिप केसी, टिकाराम दाहाल, पुनाराम आचार्य र हरि चौधरी लगायतका युवाहरू मिलेर शनिबार बस्तीमै पुगेर आगलागी पीडितहरूलाई सहयोग रकम तथा खाद्यान्न र जिन्सी सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरूले नगद ५३ हजार २१० रुपैंया, चामल,दाल,नुन तेल लगातका खाद्यान्न सामाग्री, सिरक, तन्ना, टिसर्ट, लोरी–पिर्का लगाएतका सामग्रीहरूसहित करिब २ लाख रुपैंया बराबरको राहत सामाग्री पिडतको घरमै पुगेर हस्तान्तरण गरेका हुन ।

अभियानका अगुवा शंकर चौधरीले छेडेगाडमा आगलागी भएको खबर पाउनासाथ तत्काल सहयोग अभियान सुरु गरिएको बताउनुभयो । उहाँले विभिन्न समाजसेवी व्यक्तित्वहरू, साथीभाइ तथा सहयोगी मनहरूसँग समन्वय गर्दै छोटो समयमै नगद तथा जिन्सी सामग्री सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो ।

उहाँले आपत–विपतका समयमा सहयोग गर्न पाउनु आफूहरूका लागि गर्वको विषय भएको उल्लेख गर्दै पीडितहरूको दुःखमा साथ दिनु सबैको दायित्व भएको बताउनुभयो । दूरी टाढा भए पनि मन नजिक भए सहयोगका हातहरू कहिल्यै टाढा नहुने भन्दै मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै समाजसेवी तथा जय जीव अभियानका द्रष्टा उपेन्द्र पौडेलले यस्ता सहयोग अभियानहरू देशभर सञ्चालन भइरहेको बताउँदै विपद्का बेला एकले अर्कालाई साथ दिनु नै सच्चा मानवता भएको धारणा व्यक्त गर्नुभयो । उहाँले दुःखमा परेकाहरूलाई सानो सहयोगले पनि ठूलो राहत मिल्ने भन्दै यस्ता अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

अर्का समाजसेवी धर्मराज दाहालले विपद्का बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै सानो सहयोगले पनि पीडितहरूको मनोबल उच्च हुने उल्लेख गर्नुभयो। उहाँले यस्ता मानवीय कार्यमा सबैको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

गत चैत्र २१ गते राति गाउँमा आगलागी हुँदा ८ वटा घर र १४ वटा गोठ जलेर पुर्ण रूपमा नष्ट भएका थिए । रातिको समयमा आगलागी हुँदा एकै घरका ओमबहादुर रेश्मीले पालेका ३९ वटा बाख्रासहित अरू स्थानिएको गोठमा वाँधेका १ सय ८ ओटा बाख्रा, ५ वटा गोरू र ४ वटा वंगुर पनि जलेका थिए ।

आगलागी हुँदा सबै घरमा रहेको ३ लाख ५० हजार बढी रकम जलेर नष्ट भएको थियो भने मानवयि क्षेती हुन पाएन । आगलागीबाट करिव १ करोड १८ लाख बराबरको क्षति भएको ऐरावती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अमर बहादुर रेस्मीले जानकारी दिनुभयो । गाउँमा आगलागी पछि समस्यामा रहेका पिडतिहरुलाई विभिन्न स्थानबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस