तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले दलित समुदायका महिलाका लागि ‘कृषि तथा पशुपंक्षी पालन’ सम्बन्धि तालिम संचालन गरेको छ ।
तालिममा वडा नम्बर १२ का ३० जना भन्दा बढी महिलाहरू सहभागी छन् । परम्परागत खेतीपाती र पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउन वडाले दलित महिलाका लागि तालिमको आयोजना गरेको हो ।

वडाअध्यक्ष खुशीराम चौधरीले हरेक नागरिक हरेक विषयमा शिक्षित हुनु नै प्रमुख विकास हुने बताउनुभयो । उहाँले भौतिक विकासमात्रै विकास नहुने भन्दै मानविय विकास सबैभन्दा महत्वपूर्ण विकास हुने बताउनुभयो ।
वडा अध्यक्ष चौधरीले दलित समुदायको उत्थानका लागि संविधानमै व्यवस्था भएकाले अब दलित समुदायलाई आर्थिक रुपमा पनि सक्षम बनाउन वडाले पनि यस्तो किसिमको तालिमको आयोजना गरेको बताउनुभयो ।
भोलिसम्म संचालन हुने तालिमको प्रशिक्षकमा पशु प्राविधिक नवराज रेग्मी रहनुभएको छ । उहाँले कृषि तथा पशुपालनमा आउने समस्या, अपनाउनुपर्ने तरिकाबारे प्रशिक्षण गर्नुभएको छ ।
वडा सचिव गणेश कुमार आचार्यले तालिमबाट सिकेका कुरालाई व्यवहारिकरुपमा कार्यान्वयन गरी आर्थिकरुपमा सबल बन्न सहभागीलाई आग्रह गर्नुभयो । तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य शेषमणी भण्डारी, कमला घर्ती र बिमला विश्वकर्माले मन्तव्य राख्नुभएको हो । उद्घाटन कार्यक्रमको सहजीकरण कर्मचारी रञ्जिता चौधरीले गर्नुभएको हो ।
















