दाङ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयको नासुविरूद्ध दुई लाख रूपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय, भैरहवा, रूपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाले घुस लिएको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग खाम्चाले दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा उनले जीर्ण स्रेस्ता कायम गर्ने र जग्गा नामसारी दाखिला गरिदिने कामका लागि सेवाग्राहीसँग मोलमोलाइ गरेर दुई लाख रुपैयाँ लिएको पुष्टि भएको छ ।
सोही कारण आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेअनुसार २ लाख रूपैयाँ बिगो र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।















