२०८३ जेष्ठ ११ गते सोमवार

सल्यानमा रैथाने अदुवा र हलेदोको संरक्षणका लागि अनुसन्धान तीव्र


सल्यान । सल्यानमा रैथाने अदुवा र हलेदोका जातको संरक्षण तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धानलाई तीव्र बनाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटले उच्च उत्पादन दिने तथा स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने जात पहिचान गर्न अनुसन्धानलाई प्राथमिकतामा राखेको हो ।

कार्यक्रमअन्तर्गत अदुवाका ६३ वटा, पहेँलो हलेदोका १०५ वटा तथा कालो हलेदोका १५ वटा जर्मप्लाज्म परीक्षणका लागि रोपिएको छ । अनुसन्धानमार्फत रैथाने जातको संरक्षण, उत्पादन क्षमता तथा स्थानीय हावापानीसँगको अनुकूलन क्षमताको मूल्याङ्कन गरी भविष्यमा सिफारिसयोग्य जात पहिचान गर्ने लक्ष्य राखिएको कार्यक्रमका संयोजक डा. घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न क्षेत्रबाट संकलन गरिएका स्थानीय तथा रैथाने जातलाई वैज्ञानिक परीक्षणमार्फत मूल्याङ्कन गरिनेछ । प्रारम्भिक चरणमा जर्मप्लाज्म रोपेर बिरुवाको वृद्धि, उत्पादन, रोग प्रतिरोधात्मक क्षमता तथा स्थानीय वातावरणसँगको अनुकूलन अवस्थाबारे अध्ययन भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानपछि उत्कृष्ट देखिएका अदुवाका १७ वटा र हलेदोका ३० वटा जातलाई थप परीक्षणका लागि छनोट गरिएको अनुसन्धान कार्यक्रमले जनाएको छ । ती जातलाई “सीबीटी” अन्तर्गत विभिन्न अनुसन्धान केन्द्रमा पठाइने डा. भण्डारीले बताउनुभयो ।

विभिन्न स्थानमा सफल देखिएका जात किसानको बारीमा समेत परीक्षण गरिनेछ । दुई वर्षसम्म तथ्याङ्क संकलन गरेपछि मात्रै व्यवसायिक खेतीका लागि सिफारिस प्रक्रिया अघि बढाइने कार्यक्रमले जनाएको छ ।

अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटले अदुवा र हलेदोसँगै मकै, तोरी, गहुँ, कोदो, फापर, भटमास र बदामलगायत बालीको पनि अनुसन्धान तथा परीक्षण गर्दै आएको छ । साथै, विकास गरिएका जात स्थानीय हावा, माटो र पानीमा उपयुक्त छन् वा छैनन् भन्ने अध्ययनसमेत हुँदै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस