२०८३ जेष्ठ २७ गते बुधवार

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध


दाङ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै २५ लाख किसान आबद्ध भएका जनाएको छ ।

किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । कृषि जनगणना, २०७८ अनुसार देशभर ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ । सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन ।

बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनुभएको छ । सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ ।

वर्गीकरणपछि परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्नेलगायत कार्यक्रम गरिनेछ । परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ । केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस