तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि विद्युतीय नगर बस सञ्चालन गर्ने भएको छ। नगर क्षेत्रभित्र बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै नगरवासीलाई सुलभ, सुरक्षित तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको हो।
उपमहानगरपालिकाले गत असार ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले विद्युतीय नगर बस सञ्चालन गर्ने योजना प्रस्तुत गर्नुभएको थियो।
सोही योजनालाई कार्यान्वयन गर्न आज (सोमबार) प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युतीय नगर बस सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उपप्रमुख स्यानी चौधरीले नगरसभामा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा विद्युतीय नगर बस सञ्चालनका लागि आवश्यक व्यवस्थापन कार्य अघि बढाइने उल्लेख गरिएको छ।
उपमहानगरपालिकाको यो योजनाले नगरभित्र सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित बनाउनुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
तस्बिर : AI

















